विराटनगर । १४ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
गत असार ९ गते मोरङ जिल्लाको कटहरी गाउँपालिका-२ बस्ने वर्ष ३९ को गणेश कुमार राजवंशीले स्थानीय १४ बर्सिया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा लिखित उजुरी परेको थियो ।
प्रहरीले राजवंशीलाई पक्राउ गरी अनुसन्धान पश्चात् उनीमाथि करणी सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालले मङ्गलवार राजवंशीलाई पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला अदालतका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले केटिएम दैनिकलाई बताए ।
नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका बालिका/किशोरीहरूलाई उनीहरूकै सहमति शारीरिक सम्बन्ध राखेता पनि उक्त सम्बन्धलाई जबरजस्ती करणी ठहर गर्दै पीडितको उमेर र परिस्थिति हेरेर कैद सजाय/ दण्ड/जरिवाना तोकेको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को ३ (ग) का अनुसार चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई बाह्र वर्षदेखि चौध वर्षसम्म कैद सजाय तोकिएको छ ।