काठमाडौं । फ्रान्स पठाएर पानी जहाजमा काम लगाइदिन्छु भन्दै एक व्यक्तिबाट रकम ठगी गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने वर्ष ३७ को बुद्धलाल लामाले कञ्चनपुरको पुनर्बास नगरपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका-१२ बस्ने माईकल तामाङ्गलाई २०७५ सालमा फ्रान्स पठाइदिन्छु भन्दै सुरुमा दुई लाख रुपैयाँ लिएका थिए ।
माईकल तामाङ्गको साथी मार्फत परिचय भएका बुद्धलाल लामाले तत्काल प्रोसेसको लागि दुई लाख रुपैयाँ लिएको र १५ दिन पछि उडाउने भनी आश्वासन दिई भारतमा पुर्याएर चार महिनासम्म होटलमा राखेका थिए ।
त्यहाँबाट विदेश नपठाएर फरार भएपछि फ्रान्स जाने सपना बोकेका तामाङ भारतबाट नेपाल फर्केका थिए । काठमाडौं आएर उनले लामासँग सम्पर्क गरेपछि लामाले हिमालयन बैंक लिमिटेड चावहिल शाखाको दुई लाखको चेक दिएका थिए ।
विदेश त जुरेन तर आफ्नो पैसा त फिर्ता आउने भयो भन्दै चेक साट्न बैंक पुग्दा उक्त खातामा पर्याप्त रकम थिए । त्यसपछि तामाङले लामाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाए ।
उच्च अदालत पाटनका न्यायाधीश विपुल न्यौपाने र खुशीप्रसाद थारुले २०७७ साल मंसिर २८ गते गरेको फैसलाले लामा बैंकिङ कसुरमा दोषि ठहर भए ।
अदालतमा सुरुदेखि नै उपस्थित नभएका लामाविरुद्ध २९ लाख १६ हजार रुपैयाँ जरिवाना र १३ दिन कैद सजाय तोकियो ।
अदालतले फैसाला गरेको झण्डै दुई वर्षपछि लामा पक्राउ परेका छन् । सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले लामालाई चैत ४ गते बौद्धबाट पक्राउ गरेर सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरेको डिएसपी राम कुमार यादवले केटिएम दैनिकलाई बताए ।
उनलाई जरिवाना सजाय असुलको लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको डिएसपी यादवले जानकारी दिए ।