
होबार्ट (अष्ट्रेलिया), सेप्टेम्बर 7 – तास्मानियास्थित नेपाली युवाहरूले निर्माण गरेको २०० किलोमिटर लामो दौडको कथा समेटिएको डकुमेन्ट्री “द रोड बिट्विन अस“ अब सिनेमाघरमा प्रदर्शन हुने भएको छ ।
चिया गफ रन क्लब (सीजीआरसी) को आयोजना तथा ह्वाईट ब्यालेन्स प्रोडक्सनको निमार्ण तथा प्रबर्धनमा बनेको यस डकुमेन्ट्रीको ट्रेलर सेप्टेम्बर १ तारिक सोमबार तास्मानियाको राजधानी होबार्टस्थित मुनाह् आर्ट सेन्टरमा सार्वजनिक गरिएको थियो । जसमा सामुदायिक अगुवा, सञ्चारकर्मी, फिल्म निर्माता र व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
फिल्मको विशेष प्रिमियर सेप्टेम्बर १४ तारिख बेलुकी ५ः३० बजे भिलेज सिनेमामा हुने भएको आयोजकले जनाएका छ । दर्शकको मागअनुसार थप शोहरू पनि हुने सम्भावना रहेको छ ।
यस डकुमेन्ट्रीमा मनिष प्रसाईले निर्देशन र छायाङ्कन निर्देशन दुवै भूमिका निर्वाह गरेका छन् । “यो यात्रा दौड मात्र थिएन– हाम्रो समाजमा विदेशमा वसोवास गर्ने भन्नावित्तिकै समयको अभाव, कामको भागदौड र पैसा प्रधान हुन्छ भन्ने जुन सोच छ त्यस कुरालाई चिरेर यस डकुमेन्ट्रीले आत्मविश्वास, सम्बन्ध, मानसिकता, दृढ संकल्प र साझा लक्ष्य भएका एक युवा समुह, उनीहरुको सम्बन्ध जो उदाहरण बनिरहेको छ, तिनिहरुको कथा यस डकुमेन्ट्रीले बताउँछ ।“ प्रसाईले भने ।
डकुमेन्ट्रीमा तासमानीयाको राजधानी होबार्टदेखि लोन्सेस्टनसम्म १५ जना धावकहरूले २०० किलोमिटर रिले रन पूरा गर्ने क्रममा भोगेका अनुभव, उनीहरूको आपसी भाईचारा र मानसिक दृढताको कथा समेटिएको छ ।
परियोजना प्रमुख अनिश अधिकारी भन्छन् “हामीलाई विश्वास छ यस डकुमेन्ट्रीले कठिनाइ भन्दा पनि मानवीय सम्भावनाहरूलाई उजागर गरेको पाईन्छ । यो केवल दौडको मात्र कथा होइन; यो विविन्न क्षमता भएका व्यक्तिहरु एकै ठाउँमा आएर मानवता, मित्रता र सम्बन्ध विस्तारको उदाहरण बनेको विषयलाई बलियोसँग प्रस्तुत गरिएको पनि देख्न सकिनेछ ।”
क्लेरेन्स सिटी काउन्सिलका मेयर ब्रेन्डन ब्लोम्लेय पनि यस डकुमेन्ट्रीको प्रिमियर शोमा आउने निश्चित भएको छ । अन्य मेयर, सांसद, बहुसांस्कृतिक परिषद्का प्रतिनिधि, र सामाजिक संगठनकर्मीहरूको उपस्थिति रहने अपेक्षा रहेको आयोजक बताउँछन् ।
निर्देशक मनिष प्रसाई भन्छन्, “जहाँसम्म मलाई थाहा छ, अस्ट्रेलियामा नेपालीले डकुमेन्ट्री बनाएर ठूलो पर्दामा देखाउँन लागेको पहिलो पटक हो । यो हाम्रो लागि गर्वको कुरा हो ।”
चिया गफ रन क्लब (सीजीआरसी) को परियोजना हो, जसलाई तास्मानिया सरकार ”रन फर हार्मनी” र नेपाली सोसाईटी अफ तासमानीयाको समर्थन रहेको छ । फिल्म निर्माणको क्रममा धावकहरूको ऊर्जा प्रदान गर्न मोर ईण्डुरेन्सले एनर्जी जेल र सप्लिमेन्ट उपलब्ध गराएको थियो ।
तास्मानिया अष्ट्रेलियाको सुन्दर राज्य हो, होबार्ट राजधानी शहर हो । यही राजधानीबाट सुरु भएको २०० किलोमिटरको यात्रा लोन्सेस्टनसम्म पुगेको थियो । यस यात्रालाई नेपाली र नेपाली युवाहरूले डकुमेन्ट्रीमा उतारेर तास्मानियाको सांस्कृतिक र खेलकुदीय विविधतालाई विश्वसामु प्रस्तुत गरेका छन् ।