जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेका छन्। श्रीमतीको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ।
माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियार प्रहार भएको घाउ देखिएको छ। उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रूखमा झुण्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार मिथिला बिहारी नगरपालिका–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन ससुराली पुगेका थिए।
मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्। बालकको एउटा तिघ्रामा धारिलो हतियार प्रहार भएको घाउ देखिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक खनालले घटनाको प्रकृति शङ्कास्पद देखिएको बताए। प्रारम्भिक अनुमानअनुसार उमेशले श्रीमतीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।