२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा केही चर्चित अनुहारहरूले पराजय भोग्नुपर्यो । आज हामीले पराजय भोगेका केही चर्चित अनुहारको बारेमा जानकारी दिन गइरहेका छौं ।
२०७४ सालको निर्वाचनमा सहभागी भएका भएका केही राजनीतिक दलहरू अर्को दलमा गाभिएका छन् भने केही एक दलबाट टुक्रिएर नयाँ दल बनेका छन् । त्यसैले उक्त समयमा भएका केही दलहरूको नाम अहिले छैन ।
२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन दुई चरणमा भएको थियो । पहिलो चरणमा २०७४ साल मंसिर १० गते र दोस्रो चरणमा मंसिर २१ गते सम्पन्न भएको थियो । नेकपा एमाले र माओवादी केन्द्र तालमेल गरेर निर्वाचनमा होमिएका थिए ।
अहिले भने निर्वाचन आयोगले मंसिर ४ गते एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने मितिलाई सरकारले अनुमोदन गरेको छ ।
हामीले तयार पारेको यो रिपोर्टमा दुईजना बाहेक सबै नेपाली नेपाली कांग्रेसका उम्मेदवारहरू हुन् । यसभन्दा अगाडि हामीले “अघिल्लो संसदीय निर्वाचनमा पराजित भएका २५ चर्चित नेताहरूको नालिबेली” शीर्षकमा रिपोर्ट प्रकाशित गरिसकेका छौं ।
झापाको क्षेत्र नम्बर १ मा पराजित भएका विश्व प्रकाश शर्मा १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भए । उनी २०७४ सालको संसदीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका राम कार्की भनिने सुरेन्द्र कुमार कार्कीसँग दुई हजार ८६३ मतले पराजित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शर्मा एमालेका रविन कोइरालासँग पराजित भएका थिए । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा झापाको मेचीनगर नगरपालिकाको प्रमुख पदमा प्रदेश कमिटीले गरेको निर्णय लत्याउँदै शर्माले केन्द्रबाट अर्का उम्मेदवार आधिकारीक भएको भन्दै परिपत्र नै जारी गराएका थिए । प्रदेश कमिटीले उक्त नगरको प्रमुख पदमा केशवराज पाण्डेलाई टिकट दिएको थियो ।
निर्वाचनको अन्तिम परिणाम आउँदा प्रदेश सभाबाट राजीनामा दिएका एमालेका गोपालचन्द्र बुढाथोकी २६,४७८ मतका साथ प्रमुख पदमा निर्वाचित हुँदा केन्द्रबाट आधिकारिक उम्मेदवार तोकिएका कांग्रेसका इन्द्र बहादुर बुढाथोकीले २१,३११ मत पाए । सिटौला र शर्माको शक्ति सर्घषको असर झापामा बेलाबेला देखिँदै आएको छ । कतिपयले त शर्मालाई संघीय चुनावमा र संविधानसभा सदस्यमा पराजित गराउन सिटौलाको हात रहेको बताउने गरेका छन् ।
डा. शेखर कोइराला एमालेका लाल बाबु पंण्डितसँग झिनो मतान्तरले पराजित हुन पुगे । मोरङको क्षेत्र नम्बर ६ मा पंण्डितले ३३,९४१ मतका साथ प्रतिनिधि सभाको सिट सुरक्षित गर्दा कोइराला ३३,२६६ मतमा रोकिन् पुगे ।
तिनै कोइराला १४ औँ महाधिवेशनमा सभापतिको आकांक्षी थिए पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनमा कोइराला अहिलेका प्रधानमन्त्री समेत रहेका शेर बहादुर देउवासँग ८७८ मतान्तरले पराजित हुन पुगे । देउवा २,७३३ मतका साथ निर्वाचित हुँदा कोइरालाले १,८५५ मत पाए ।
पराजित हुने चर्चित अनुहारमा पर्छन् कांग्रेस नेता विमलेन्द्र निधि । उनी धनुषा-३ मा तात्कालिन *राष्ट्रिय जनता पार्टी, नेपालका राजेन्द्र महतोसँग दुई हजार ९०३ मतले पराजित भएका थिए । महतो अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा छन् भने निधि गत मंसिरमा सम्पन्न भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका थिए ।
२५० मत पाएका निधिले दोस्रो चरणमा भएको मतदानमा शेर बहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेका थिए ।
पूर्वअर्थमन्त्री समेत रहेका डा. राम शरण महत अघिल्लो संसदीय चुनावमा नुवाकोट-१ मा पराजित भए । उनी माओवादी केन्द्रका हितबहादुर तामाङसँग आठ हजार ५५३ मतले पराजित भएका हुन् । सोही जिल्लाको क्षेत्र नम्बरमा २ मा अर्जुन नरसिंह के.सी. एमालेका नारायण प्रसाद खतिवडासँग १० हजार ५५७ मतले पराजित भएका थिए ।
काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र झिनो मतान्तरले कांग्रेसका प्रकाशमान सिंहसँग पराजित हुन पुगे । सिंह १० हजार ९३६ मतका साथ निर्वाचित हुँदा पूर्व सञ्चारकर्मी समेत रहेका मिश्रले १० हजार ११८ मत पाए । उनी ८१८ मतान्तरले पराजित हुन पुगेका हुन् ।
सिंहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको लागि प्रतिस्पर्धा गर्दा ३७१ मत पाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले सदर मतको ५० प्रतिशत कटाउन नसकेकाको दोस्रो चरणको मतदानमा उनले देउवालाई समर्थन गर्ने निर्णय गरेका थिए । सिंह पत्नी सिर्जना सिंह २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् । मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ६१,७६७ मतका साथ निर्वाचित हुँदा सिंह ३८,३४१ मतका साथ दोस्रो स्थानमा रहिन् ।
सिन्धुपाल्चोक-१ बाट माओवादी केन्द्रका अग्नि प्रसाद सापकोटा ४०,५०९ मतका साथ निर्वाचित हुँदा कांग्रेसका मोहन बहादुर बस्नेतले २९,७९८ मत पाए । अहिले सभामुख समेत रहेका सापकोटा १० हजार ७०६ मतान्तरले निर्वाचित भएका थिए । बस्नेत दुइपटक सम्म मन्त्री भइसकेका व्यक्ति हुन् । धेरै कमलाई मात्र थाहा होला बस्नेत र शेर बहादुर देउवा नातामा साढुभाई पर्छन् । सोही जिल्लाको क्षेत्र नम्बर २ मा तात्कालिन राप्रपा (प्रजातान्त्रिक)का पशुपति शमशेर ज.ब.रा एमालेका शेर बहादुर तामाङसँग पराजित हुन पुगे । केपी शर्मा ओलीको सरकारमा तामाङ खानेपानी मन्त्री समेत भएका थिए भने उनकी श्रीमती उषाकला राई मुख्यमन्त्री शेरधन राईको पालामा प्रदेश १ को सामाजिक विकास मन्त्री भएकी थिइन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । प्रचण्डसँग चुनावी प्रतिस्पर्धा गरेका तात्कालिन राप्रपा (प्रजातान्तिक) का विक्रम पाण्डे नौ हजार ३४१ मतले पराजित भए । पूर्वमन्त्री समेत रहेका पाण्डेले ३८,९३५ मत पाउँदा निर्वाचित प्रचण्डले ४८,२७६ मत पाएका थिए । तिनै पाण्डे गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट सर्वाधिक मतका साथ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो चुनावमा एमालेका कृष्ण कुमार श्रेष्ठसँग ६ हजार ८०२ मतान्तरले पराजित हुन पुगे । श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा छन् भने उनले लगभग आठ महिना श्रम तथा रोजगारी मन्त्रीको जिम्मेबारी समेत सम्हालिसकेका छन् । मन्त्री भएको चार दिनमै सम्पत्ती विवरण सार्वजनिक गरेका श्रेष्ठ अरबौँ सम्पत्तिका मालिक समेत हुन् ।
कांग्रेसका पूर्णबहादुर खड्का अघिल्लो चुनावमा एमालेका ध्रुवकुमार शाहीसँग पराजित हुन पुगे । सुर्खेतको क्षेत्र नम्बर १ मा शाही ३६,७६९ मतका साथ निर्वाचित हुँदा खड्काले ३३,३७७ मत पाएका थिए । उनी तीन हजार ३८२ मतान्तरले पराजित हुन पुगेका हुन् । तिनै खड्का १४ औं महाधिवेशनमा उपसभापतिमा सर्वाधिक मतका साथ निर्वाचित भए । दुई उपसभापति मध्येमा खड्काले २,१२१ मत पाउँदा धनराज गुरुङ १,९०८ मतका साथ निर्वाचित भए । सोही पदका उम्मेदवार विजयकुमार गच्छदार दुई मतले पराजित भएका थिए ।
* सच्चाइएको राजेन्द्र महत्तो तत्कालित *राष्ट्रिय जनता पार्टी, हुनुपर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, भएकोमा यसलाई सच्चाइएको छ । सम्पादक