नेपाल राष्ट्र बैंकका गभर्नर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको हो।
गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको आरोप लगाउदै बिहीबार वाइसिएलका नेताहरू काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन्।
उजुरीमा नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुनेछैन भन्ने व्यवस्थाको प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ।
उक्त उजुरी सी-०५१४५९ नम्बरमा दर्ता भएको हो ।
उनीहरूले उजुरीसँगै नेपाल राष्ट्र बैंक ऐन २०५९ को प्रतिलिपि, विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचारहरूको प्रतिलिपि र नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सदस्य ई. देउकाजी गुरुङले दिएको अडियो अन्तरवार्ताको समाग्री समेत समावेश गरिएको छ ।