सर्वाधिक चर्चामा रहेको काठमाडौं महानगरको प्रमुख पदमा लौरो चुनाव चिह्नका बालेन भनिने वालेन्द्र साह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् ।
यो समाचार तयार पार्दासम्म प्रमुख पदका स्वतन्त्र उम्मेदवार साह गठबन्धनकी सिर्जना सिंहभन्दा १८ हजार ९३७ मतले अगाडि छन् ।
दोस्रोबाट तेस्रो स्थानमा पुगेका एमालेका केशव स्थापित भने साहसँग १९ हजार ७७५ मतले पछाडि छन् । जबकी दोस्रो र तेस्रो स्थानमा हुने उम्मेदवाहरूको मतान्तर ८३८ रहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार साहले ४७ हजार ७५२ नेपाली कांग्रेसकी सिंहले २८ हजार ८१५ एमालेका स्थापितले २७ हजार ९७७ मत ल्याएका छन् ।
सोही पदमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार १९३ मत ल्याउँदा राप्रपाका मदनदास श्रेष्ठको मत दुई हजार ९९६ छ । सायमी श्रेष्ठभन्दा ३ हजार १९६ मतले अघि छन् । त्यस्तैगरी राप्रपाकी समिक्षा बास्कोटाको तराजु चुनाव चिह्नमा जम्मा ३४४ मत खसेको छ ।
उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् । उनलाई पछ्याइरहेका गठबन्धनका रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत पाएका छन् । एमालेकी डंगोल एकीकृत समाजवादीका श्रेष्ठभन्दा २९ हजार ४२३ मतले अगाडि छिन् ।
सोही पदमा राप्रपाकी बिनिता मगैयाले ७ हजार २३ मत पाउँदा उपप्रमुखमा लौरो चुनाव चिह्नका वेन्जीसिंह महर्जनले २ हजार १४२ मत पाएका छन् । मगैया महर्जनभन्दा ४ हजार ८८१ मतले अगाडि छिन् ।
त्यस्तैगरी उपप्रमुखमा राप्रपाकी कृति कंसाकरले १ हजार ६७५ मत पाउँदा स्वतन्त्र उम्मेदवार विद्या महर्जनको मत १ हजार ५७८ रहेको छ ।