नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्।
आजको उक्त बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको बताए । यद्यपि गठबन्धनमा विवाद भए पनि ५ वटै दल मिलेर जानुपर्ने उनले बताए ।
‘तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ ।’ प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उनको भनाइ थियो । आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भने, ‘हाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’
अध्यक्ष प्रचण्डले ठूलो दल कांग्रेससँग माओवादीले पनि सकेसम्म बार्गेनिङ गरेर धेरै भाग माग्नुपर्ने, नभए जतिमा हुन्छ त्ययतिमा तालमेल गरेर जानुपर्ने समेत बताए ।
सत्ता गठबन्धनले एमाले विजयी भएको स्थानमा मतभारको आधारमा भागबन्डा गर्ने मापदण्ड बनाएको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले २०७४ को स्थानीय चुनावमा विजयी दलललाई सम्बन्धित तह छोड्ने र बाँकी तहमा मतभारको आधारमा भागबन्डा गर्ने निर्णय भएको नेताहरूले बताएका छन् ।