चिनको उहान बाट सुरुको भएको कोरोनाको प्रकोप नेपालमा जनवरी २३ मा चिनको उहानबाट फर्किएका ३१ बर्षिय पुरुषमा देखिएको थियो । यो नै दक्षिण एसियाको पहिलो कोरोना संक्रमण पुष्टि भएको केस थियो ।
पहिलो केसबाट दोस्रो केस नेपालमा लगभग २ महिनापछि १७ मार्चमा फ्रान्सबाट फर्किएकी १९ बर्षिय युवतीमा देखिएको कुरा २२ मार्चमा पुष्टि भएको थियो ।
सरकारले १९ मार्च देखि नै २५ जना भन्दा धेरै मान्छे भेला भएर कुनै कार्यक्रम नगर्न आदेश जारी गरि सकेको थियो भने SEE परिक्षा पनि सुरु हुनु भन्दा १२ घण्टा पहिले स्थगित गरिएको घोषणा गरेको थियो । चिनको हुबेई प्रान्तको उहान शहरमा जनवरी २३ कै दिनदेखि लकडाउन सुरु गरिएको थियो जस्लाइ सामान्य शब्दमा ‘उहान लकडाउन’ को नामले चिनिन्छ । उहान लकडाउनको बेलामा जनता घरमै नजरबन्दको अबस्थामा थिए भने शहरमा आउने र शहरबाट जाने सम्पुर्ण यातायातको साधनहरु बन्द गरिएको थियो ।
नेपालमा भने मार्च २४ का दिनदेखि देशभर लकडाउनको घोषणा गरिएको थियो । हुन त लकडाउन कोरोनाको अचुक औषधी त होइन तर पनि कोरोनाको संक्रमण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा र समुदाय स्तरमा फैलिनबाट जोगाउन लकडाउन गर्नु आवश्यक थियो । साथै लकडाउनको अबस्थामा केन्द्र, प्रदेश तथा स्थानिय सरकारहरुले कोरोनाको संक्रमण नियन्त्रण तथा उपचारको लागि आवश्यक तयारी तथा अत्यावश्यक सरसामनहरुको ब्यबस्थापन गर्नु पर्ने थियो । आजको मिति २८ मे सम्म लकडाउन गरिएको दिन ६४ दिन लागि सक्यो भने अझै जेठ २०(जुन २) सम्म लकडाउनको अबधी रहेको छ । त्यसपछि लकडाउनलाई के गर्ने भनेर सरकारले अहिले सम्म केही जनाएको छैन। तर पनि आजको मितिमा कोरोनाको संक्रमणको संख्या १ हजार नाघि सकेको अबस्थामा लकडाउन पुर्ण रुपमा हटाउने काम सरकारले नगर्ला तर यसको स्वरुप भने केहि परिवर्तन हुन भने सक्नेछ ।
यस किसिमको महामारीको र लकडाउनको अवस्थामा संभवत हाम्रो पुस्ताले न कहिले न भोगेको थियौ र त सुनेको नै थियौ । एक देश, क्षेत्र मात्र नभइ लगभग एकै समयमा संसारभर यस किसिमको अबस्था यस भन्दा पहिले सायदै भोगिएको थियो । विश्वयुद्धको समयमा बाहेक अन्य समयमा संसारको आर्थिक गतिबिधी ठप्प हुने किसिमले यस्तो घटना कहिल्यै घटेको पाइदैन ।
लकडाउनको अबधीमा सरकारबाट धेरै राम्रा प्रयासहरु भएका छन । सुरक्षाकर्मी तथा स्वास्थ्य कर्मीहरु सिमित स्रोत, साधन तथा सुविधाहरुको बाबजुत आफ्नो कर्तव्य पालना गर्न चुकेका छैनन। तर पनि यस अबधीमा केही गलत अभ्यासहरु पनि भए । नेपालमा सरकार र समुदाय स्तरवाट लकडाउनको अबधीमा भए गरेका गलत अभ्यासलाई एक नागरिकको आँखाबाट हेर्दा यस प्रकार देखियो
(१) अव्यबस्थित सिमाना
भारत सँगको खुल्ला सिमानाको कारणले लकडाउनको अबधीमा असुरक्षित रुपमा हजारौ नेपालीहरु नेपाल भित्र प्रवेश गरे, जस्को कारणले हाल कोरोना संक्रमण अत्यधिक मात्रामा बढेको देखिन्छ । सरकारले भारतबाट लकडाउनको अबधीमा आफ्ना नागरिक फिर्ता लयाउने निती त बनाएको थिएन तर पनि दुखको बेलामा भारतमा काम गर्न गएका लाखौ नागरिकहरु देश भित्र आउन ज्यान नै हत्केलामा राखेर आउन तयार भए । सरकारले भारतबाट नागरिक आउनेछन र सो को लागि व्यबस्थित रुपमा सिमाको ब्यबस्थापन गरेर आएका नागरिकहरुलाई उचित रुपमा क्वारेन्टिनमा राख्ने ब्यबस्था गर्न नसेकेको देखियो ।
(२) अव्यबस्थित क्वारेनटिन
विदेशबाट आएका वा देशका अन्य भागबाट गएका नागरिकहरुलाई राखिएको क्वारेन्टिनबाट उनिहरु भागेर समुदायमा गएको धेरै घटनाहरु देखियो । यसको मुल कारण अब्यबस्थित क्वारेन्टिन र त्यसमा भएका कमि कमजोरीहरु नै जिम्वेबार रहेको देखियो । सुत्ने, खाने र शौचालयको उचित ब्यबस्थापन नहुदा क्वारेन्टिनमा बस्नेहरु निरुत्साहित देखिए । सुरुमा चिनको उहानबाट ल्याइएका बिद्यार्थीहरुलाई खरिपटीमा WHO को मापदण्डमा निर्माण गरिएको कवारेन्टिनमा राखिएकोमा पछि ब्यबस्था गरिएका क्वारेन्टिनहरु मानिस बस्नको लागि योग्य हुने किसिमले बनाइएको पाइएन।
(३) स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित
जसरी युद्ध हुदा अघिल्लो मोर्चामा सैनिकहरु खटिएका हुन्छन, त्यसरी नै यो महामारीमा अघिल्लो मोर्चामा खटिने भनेका स्वास्थ्य कर्मीहरु र उनिहरुलाई सहयोग गर्ने अन्य कर्मचारीहरु हुन । तर यो लकडाउनको अबधीमा स्वास्थ्यकर्मीहरुलाई सुरक्षाकर्मी र समुदाय दुवै तर्फवाट हतोत्साहित हुने किसिमको कामहरु भए । आफ्नो कामबाट फर्किएका डाकटरहरुलाई महाराजगन्जमा प्रहरीद्धारा नै हातपात भयो भने घर बहालमा बस्ने स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थाबाट काम सकिएर घरमा फर्किदा अनावश्यक तनाब दिने काम गरियो ।
(४) अत्याबश्यक काममा हिडेकाहरुलाई अबरोध
कतिपय अबस्थामा मानिसहरु लकडाउनको वास्ता नगरी मनोरंजन गर्नकै लागि बाहिर सडका हिडे पनि कति बेलामा अत्याबश्यक काम लगायत औषधी किन्न हिडेका नागरिकहरुलाई लकडाउनको सुरुवाती दिनहरुमा अनावश्यक बल प्रयोग गरी हातपात गरेको पनि देखियो भने कतिपय अबस्थामा उठबस गराउने लगायतका कार्यहरु पनि भए । तर नागरिक आलोचना गरिएपछि सुरक्षाकर्मीहरुबाट त्यस किसिमको ब्यवहार पछिल्लो दिनमा भए गरेको देखिएको छैन ।
(५)गैर जिम्मेवार स्वास्थ्य संस्थाहरु
यस अबधीमा बिषेशगरी निजी स्वास्थ्य संस्थाहरु एकदमै गैर जिम्मेवार रुपमा प्रस्तुत भए । अरु बेलामा एम्बुलेन्स चालकहरुलाई कमिशन खुवाएर बिरामी किन्ने निजी स्वास्थ्य संस्थाहरु कोरोनाको महामारी सुरु हुने बित्तिकै सामान्य ज्वरो आएर अस्पताल जाने बिरामीहरुलाई ढोकै बाट फर्काएका थिए । यस्तो काम केही सरकारी अस्पतालहरुले पनि गरेका थिए । यहि अबधिमा कतिपय बिरामीहरुको उपचारको लागि अस्पताल चाहार्दा चाहार्दै मृत्यु भएको थियो । स्वास्थ्य संस्थाहरुले उनिहरुको बेलैमा उपचार गरिदिएका भए अकालमा ज्यान जाने थिएन ।
(६) टोले युवाहरुको अराजक गतिबिधी
सरकारले महामारीको बिचमा स्वास्थ्यकर्मी लगायत अन्यको परिचालन गर्ने कार्यबिधि बनाएको भए पनि पर्याप्त जनशक्तीको अभावमा स्थानिय निकायहरुले टोलका युवाहरुलाई नै स्वंयमसेवकको रुपमा खटाएका थिए । तर स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी तथा सिपको अभावले उनिहरुलाई परिचालन गर्नु झन प्रत्युतपादक भएको देखियो । एक जना उद्दण्ड युवाले एक जना जिम्मेवार सरकारी अधिकारी माथि नागढुङ्गामा प्रहरीकै अगाडी गरेको दुर्व्यवहारको देशब्यापी रुपमा आलोचना भएपछी ति युवालाई सरकारले पक्राउ गरी कार्वाहीको प्रकृया सुरु गरेको थियो । यस्ता घटनाहरु धेरै स्थानिय निकायहरुमा घटिरहेका थिए । लकडाउनको उल्लघंन गर्दै टोल टोलमा भिड गराउदै हिड्ने काम समेत उनिहरुबाट भए गरेका छन ।
(७) टोल भित्रका साना सडकहरुमा अबरोध
स्थानिय ब्यक्तिको नाममा धेरै स्थानका टोल टोलमा साना सडकहरुको तगारो हालेर बाटो बन्द गरिने काम धेरै मात्रा भयो मानौ कि कोरोना भाइरस आउने बाटो त्यहि थियो र त्यसरी तगारो हालेपछि कोरोना भाइरस आफ्नो टोलमा प्रवेश गर्दैन । यस्तो कार्य शहरी साथै गाउका टोल नाकाहरु भएका थिए ।
यस्तो कार्यले अत्याबश्यक कार्यमा हिडेका नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल तथा अत्याबश्यक खाद्य सामग्री बोकेर हिडेका यातायातका साधनहरुलाई समेत अबरोध हुन सक्ने थियो ।
(८) सडक प्रदर्शन
यस लकडाउनको अबधीमा पनि बिषेशगरी राजधानी जस्तो ठाँऊमा धेरै पटक सडक प्रदर्शन भयो । प्रदर्शन भन्ने बितिकै त्यहाँ समाजिक दुरि कायम हुने कुरै भएन । नागरिक स्तरबाट लकडाउनको ब्यापक उल्लघंन भएको घटनामा यि प्रदर्शनहरुलाई लिन सकिन्छ ।
(९) नेताहरुको अनावश्यक घुमफिर
लकडाउनकै अबधीमा सांसद तथा नेताहरु राहत बाँडने निउ देखाएर आफ्नो शक्ति प्रदर्शन गर्दै गाँउ टोल घुम्न निस्केका थिए र त्यस्ता कामको बिरोध सांसद रामनारायण बिडारीले राष्टिय सभाको बैठकमै गरेका थिए । अझ एक कदम अगाडी बढेर सत्तारुढ नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पुर्व प्रमुख सर्वेन्द्र खनाल जनकपुर पुगेर अर्का सांसद डा. सुरेन्द्र यादवलाई काठमान्डौसम्म ल्याएका थिए । यसरी सांसदहरु नै सामाजिक दुरी कायम नगरी लकडाउनकै उल्लघंन गर्दा सत्ता र शक्ति छ भने सरकारी आदेश पालना गरि राख्नु पर्दैन भन्ने सन्देश पनि दियो ।
(१०) समय तोकेर पसल खोल्ने
स्थानिय निकाय तथा वडा कार्यालयहरुले आफ्ना वडा मातहत रहेका स्थानका पसलहरुलाई निश्चित अबधी तोकेर खोल्न निर्देशन जारी गरे । धेरै जसो बिहान ५ देखि १० बजे सम्म मात्र पसल खोल्नु भनेर सुचना नै जारी गरे । तर यसो गर्दा बिहान ५ देखि १० बजे सम्म ति पसलहरुमा धेरै मान्छे जम्मा हुने र भिडभाडमै कोरोना भाइरसको संक्रमण एक बाट अर्कोमा सर्न सक्ने संभावना हुने कुरालई उनिहरुले पुरै वेवास्ता गरे । यसको साटो टोल टोलका साना साना पसलहरुलाई सुरक्षित तवरले दिनभरी खोल्न दिने वातावरण बनाएको भए मानिसहरु आफ्नो अनुकुल समयमा पसल जान सक्ने हुदा एकै समयमा भिडभाड हुने अबस्था आउदैन थियो ।
(११) ठुला ठुला ब्यापारिक मल खोल्न दिने
सरकारले भाटभटेनी, सेलवेज, बिग मार्ट जस्ता ठुला ठुला पसल तथा एकै पटक धेरै जना मानिस जम्मा हुन सक्ने ठाँउलाई चाँहि बिहानै देखि दिनभर खोल्न दिने निर्णय गर्यो । ति स्थानमा एक धेरै मानिस जम्मा हुने हुदा संक्रमण फैलिन सक्ने भनेर कतिपय जनस्वास्थ्य बिदहरुले नै तेस्ता ब्यापारिक मलहरुलाई खोल्न दिनु उचित नहुने भन्ने सल्लाह दिएका थिए ।
भोला प्रसाद कोइराला
धुनिबेशि नगरपालिका-६, धादिङ्ग
केही समयअगाडी लेखकले कोरोना परीक्षणबारे लेखेको अर्को लेख पनि पढ्नुहोस् :