
घटना–१
लक्ष्मीपूजाको राति। भोजपुरको पाङ्चा गाउँपालिका–१० देउसी–भैलोले गुञ्जायमान थियो। स्थानीय ११ वर्षीया कल्पना (नाम परिवर्तित) देउसी–भैलो खेल्ने समूहकी एक सदस्य थिइन्।
आफ्ना मामाका दुई छोरीसँग राति अबेरसम्म उनले देउसी–भैलो खेलिन्। मामाघर–आफ्नो घर नजिक–नजिक थियो। यसैले दिदीहरू (मामाका छोरीहरू) सँगै सुत्ने निधोसहित उनी मामाघर पुगिन्। दिदीहरूसँग भुँइमै सुतिन्, उनी।
निन्द्रामा रहेको अवस्थामा कल्पनाका ४५ वर्षीय मामा आएर उनलाई जबरजस्ती करणी गरे। डर–त्रास देखाउँदै मामाले मुख थुनेर करणी गरेको कुरा उनले कसैलाई सुनाउन सकिनन्। कक्षा ६ मा अध्ययनरत कल्पनाले आफ्ना परिवारलाई मात्र नभएर स्कुलका साथीसँग पनि यसबारे सुनाउन सकिनन्।
समय बित्दै गयो। उनको महिनावारी रोकियो। मामाबाट करणी भएको कुरा भन्न नसकेकी उनले महिनावारी रोकिएको कुरा भने आफ्नी आमालाई भनिन्। आमाले यसलाई स्वाभाविक ठान्दै भनिन्, ‘चिन्ता नलिई, केही दिनमा होला!’
तर, उनको पेट अस्वाभाविक रूपमा दुख्न थाल्यो। कल्पनाको यो पीडा उनको परिवारले बुझ्यो र बेलबारी अस्पताल पुर्यायो। परीक्षणको रिपोर्ट हेरेपछि डाक्टरले पिसाबमा ‘इन्फेक्सन’ देखिएका कारण पेट दुखेको भन्दै औषधि दिएर पठायो।
औषधिले काम गरेन, झन्–झन् पेट दुख्न थाल्यो। त्यसपछि उनलाई ग्यास्ट्रिक च्यापेको भन्दै आयुर्वेदिक औषधि दिइयो। परिवारले दिएको आयुर्वेदिक औषधिले पनि उनलाई सन्चो नभएपछि विराटनगरस्थित कोसी अस्पताल ल्याइयो।
कोसीका चिकित्सकले कल्पना गर्भवती रहेको रिपोर्ट दिएपछि उनले घटनाबारे बेलिबिस्तार लगाउनुपर्यो। घटना सतहमा आएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङले कल्पनालाई एउटा एबिसी नेपालको जिम्मा लगाउँदै अनुसन्धान थाल्यो।
भोजपुर प्रहरीसँगको समन्वयमा मोरङ प्रहरीले कल्पनाका मामालाई पक्राउ गरेर कारागार चलानसमेत गरिसकेको छ। यता, एबिसी नेपालको संरक्षणमा आएको सात दिनपछि कानुनी प्रक्रिया पुर्याएर कोसी अस्पतालमा सुरक्षित रूपमा कल्पनाको गर्भपतन भयो।
गर्भपतनले कानुनी मान्यता पाएपछि कल्पनाजस्ता कयौँ बलात्कार पीडितले आंशिक रूपमा भए पनि न्यायको महसुस गरेका छन्। बलात्कार र हाडनाता करणीको पीडा भोग्नेलाई थाहा होला! तर, बलात्कारसँगै अनिच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइपर्नु भनेको दोहोरो अन्याय हुन जान्छ।
घटना २
सङ्खुवासभाको चैनपुर नगरपालिका–७ की मीना लिम्बू (परिवर्तित नाम) ले सानैमा आमा–बुबा गुमाइन्। तर तीनभाइ काकाहरू र हजुरबुबा–हजुरआमा भएका कारण उनले टुहुरी अनुभूति गर्न पाएकी थिइनन्। अझ काकाले आफ्ना दुई छोरी हुँदाहुँदै पनि मीनालाई लिखितम् गरेरै पालनपोषण गर्ने प्रतिबद्धता जनाएपछि त उनले आफूलाई भाग्यमानी नै ठानेकी थिइन्।
काका–काकीले पालनपोषणको जिम्मा लिए पनि उनी आफूलाई जन्म दिने आमाबुबाको शेष जहाँबाट सकियो त्यहीँ अर्थात् हजुरबुबा–हजुरआमा बसेको घर (मूलघर) मा बस्न थालिन्। कक्षा ४ मा पढ्दै गरेकी उनी घरको काममा खटिनुपरेका कारण विद्यालय जान पाइनन्। स्कुल जान नपाएर साथीहरूसँग भेट गर्न नपाउँदा एकोहोरीजस्तै भएकी थिइन्, उनी।
६८ वर्षीय हजुरबुबा धामी–झाँक्री थिए। कतै धामी बसेर आउँदा हजुरबुबाले फलफूल, मिठाइ र रोटी ल्याइदिन्थे। यसैले १४ वर्षीया मीना हजुरबुबाको मायाबाट मख्ख थिइन्। तर, उनका हजुरबुबाको कुदृष्टि भने मीनाको नवयौवनमा परिसकेको थियो।
२०७८ साल असार ७ गते राति। धामी बसेर फर्किएका हजुरबुबाले मीनाको कोठामा प्रवेश गरेर उनीमाथि जबरजस्ती करणी गरे। मीनाको चित्कार कसैले सुनेनन्। बलात्कारपछि रुन थालेकी मीनालाई ती वृद्ध उमेरका हजुरबुबाले भने, ‘कसैलाई भनिस् भने मारिदिन्छु। ‘धामी हुँ, जे पनि गर्न सक्छु।’
त्यसपछि मीनामाथि पटक–पटक उनका हजुरबुबाले ‘हैकम’ जमाएर करणी गरिरहे। लगातार चार महिना मीना उनका हजुरबुबाको यौनक्रियाको सिकार बनिन्। बीचमा उनको महिनावारी रोकियो। तर महिनावारी रोकिँदा गर्भ बस्छ भन्ने विषयमा अनभिज्ञ थिइन्, उनी।
स्वास्थ्यमा समस्या आएपछि मीनाकी काकीले उनलाई अस्पताल पुर्याए। रिपोर्टबाट पत्ता लाग्यो कि मीनाको पेटमा पाँच महिनाको गर्भ थियो। काकीको प्रश्नमा मीनाले हजुरबुबाबाट बलात्कृत भएको सुनाइन्। काकीले प्रहरीलाई जानकारी नदिई घरभित्रै घटना मिलाउन खोजिन्।
तर, अभिभावकत्व लिएका हजुरबुबा र हजुरआमाले मीनालाई ‘अरू कसैको गर्भ बोकेको हो’ भन्दै अनेक लाञ्छना लगाए। घटना सतहमा आउन्जेल मीनाको पेट अस्वाभाविक रूपमा बढिसकेको थियो। पछि प्रहरीले मीनाका हजुरबुबालाई समात्यो र अनुसन्धान अगाडि बढायो। मीनाको पेटमा कसको भ्रूण हुर्किँदै छ भन्ने निर्क्योल गर्न प्रहरीले ‘डिएनए टेस्ट’ गर्नुपर्ने बताएपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल ल्याइयो।
डिएनए टेस्ट गरेर गर्भपतन गराउनुपर्ने थियो। किनकि, अबोध मीनाले बच्चा जन्माउन सहज थिएन। त्यसमाथि मीनालाई सुत्केरी गराउँदा उनको ज्यानै तलमाथि हुनसक्ने जोखिम थियो। अनि सन्तान जन्माउँदा पालनपोषणको जिम्मेवारीका विशेष सवालहरू बाँकी नै थिए।
तर, विभिन्न कानुनी उल्झनका बीच मीनाको गर्भपतन हुन सकेन। २८ हप्ता कटिसकेका कारण मीनाले सन्तान जन्माउनै पर्ने बाध्यता भयो। २०७८ फागुन २९ गते उनी आमा बनिन्, ‘नाजायज’ सन्तानको।
हाल मीना बलात्कारबाट जन्मिएको छोरा हुर्काउँदै काठमाडौँस्थित आफन्तको संरक्षणमा छिन्। कानुनी परिबन्ध र अनभिज्ञताका कारण आमा बन्न विवश मीना बाँचेकी त छन् तर उनको सपना, करिअर भने खरानी भइसकेको छ।
‘‘एकातिर बलात्कृत हुनुको पीडा त मीनामा छँदै छ, अर्कोतिर अनिच्छित गर्भलाई जन्माएर हुर्काउनुपरेको सास्तीले पनि उनलाई मरेतुल्य बनाइरहेको छ।’’
यी दुई प्रतिनिधिमूलक घटनाले के स्पष्ट पार्छ भने गर्भपतन भनेको बलात्कार वा हाडनाता करणीबाट बसेको गर्भको राहत हो। जसको सुविधाका कारण कल्पनाले अर्धन्याय प्राप्त गरिन्। कलिलो उमेरमा सन्तानको भार खेप्नु नपरेका कारण उनका आगामी बाटो मीनाको तुलनामा सजिलो छ।
कानुनकै उल्झनका कारण मीनाले सुरक्षित गर्भपतन गर्न पाउने आफ्नो कानुनी अधिकार पनि प्राप्त गर्न सकिनन्। गर्भपतनले कानुनी मान्यता पाएको दुई दशक बितिसकेको अवस्थामा पनि मीना यो सेवा लिनबाट वञ्चित भइन्। कानुनी उल्झाहट उनका लागि तगारो बनिदियो। गर्भवती उनी थिइन्, निर्णय उनकै चल्नुपर्थ्यो। तर, कानुनको चौघेरोले रोक्यो उनलाई।
गर्भपतन सेवा पाउन नसक्दा मीनाले कलिलै उमेरमा बच्चा जन्माउनुपर्ने बाध्यता आइपर्यो। जसले गर्दा उनलाई सन्तान हुर्काउन चाहिने आर्थिक भारले थिच्न सक्छ। सन्तानको भविष्य सुधार्नका लागि आफ्नो पढाइलाई निरन्तरता दिने बाटो उनका लागि अफ्ठेरो हुन सक्छ।
प्रजनन स्वास्थ्यबारे अनभिज्ञता
अझै पनि हाम्रो समाजमा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा खुलेर कुराकानी हुँदैन, वा धेरै यो विषयमा अनभिज्ञ नै छन्। भोजपुरकी कल्पना र सङ्खुवासभाकी मीनामा पनि भएको त्यही हो। यौन तथा प्रजनन स्वास्थ्यबारे थाहा भएको भए उनीहरूले आफूमाथि भएको उत्पीडनबारे बेलैमा परिवारभित्र कुरा राख्न सक्थे, जसले गर्दा अर्धन्यायको आभास गर्न सक्थे।
यौन तथा प्रजनन शिक्षाबारे अनभिज्ञ रहेकै कारण उनीहरूले आफ्ना कष्टलाई मनभित्रै दबाएर राखे। बेलैमा आफ्नो पीडा ओकल्न नसक्दा थप जटिलता निम्तियो।
हाम्रो समाजमा उमेर बढ्दै गएका छोराछोरीहरूलाई उमेर बढ्दै जाँदा शरीरमा आउने परिवर्तनहरू, मानसिक रूपमा देखिने परिवर्तनहरूलाई कसरी लिने भन्ने विषयमा प्रायः बहस हुँदैन।
छोरीलाई सेल्फ डिफेन्सको विषयमा सिकाउनु पर्छ भन्ने ज्ञात भए पनि छोरालाई कस्ता व्यवहार गर्नु हुँदैन, गोप्य अंग भनेको कस्ता अगंहरूलाई भन्नेजस्ता सुन्दा सामान्य तर गहन विषयवस्तुका बारेमा हाम्रो ध्यान नै छैन।
यौन शिक्षाबाट बालबालिकालाई आफ्नो शरीरका अंगको काम र संवेदनशीलता, ‘गुड टच–ब्याड टच’ आदिबारे ज्ञान दिएमा दुरुपयोग र शोषणबाट बच्न सघाउँछ। छोराछोरीलाई किशोरावस्थामा अन्योलग्रस्त हुन नदिन अभिभावकहरूले पर्याप्त समय र साथ दिनुपर्छ। उनीहरूलाई यौनसम्बन्धी जैविक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पाटोबारे जानकारी दिनुपर्ने आवश्यकता रहेको मनोविद् गोपाल ढकाल बताउँछन्।
‘बेलैमा आफ्ना बालबालिकालाई यौन–प्रजनन स्वास्थ्यका विषयमा ज्ञान दिने गरेमा उनीहरूले आफूमाथि भएका घटनाबारे बेलैमा चाल पाउँछन्,’ उनी भन्छन्, ‘जसले गर्दा भविष्यमा ठुलै दुर्घटना ननिम्तिन पनि सक्छ। अनि, यसबारे सचेत भए आफूले गर्ने व्यवहारमा बालबालिका सचेत पनि हुन्छन्।’
यौन हाम्रो जीवनको महत्त्वपूर्ण पाटो हो। यौन शिक्षाले यौन अपराधमा कमी ल्याउँछ, जुन अहिलेको अवस्थामा ठुलो आपराधिक कारकमध्ये एक हो। यौन अंगमा आफ्नो मात्र अधिकार हुन्छ भन्ने नबुझ्दा बालबालिका यौन दुर्व्यवहारको शिकार हुने गरेका छन्, जस कारण अनिच्छित गर्भ रहने र त्यसलाई असुरक्षित तवरबाट गर्भपतन गर्दा समग्र स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने ढकालको भनाइ छ।
‘शारीरिक सम्बन्ध भएपछि गर्भ रहन्छ भन्ने कुरा नै धेरै किशोर–किशोरीलाई थाहा नहुन सक्छ,’ ढकालले भने, ‘यसले देखाउँछ हाम्रो समाजमा यौन तथा प्रजनन शिक्षाको पहुँच कस्तो छ भनेर। राज्यले यौन शिक्षाका बारेमा अझ धेरै चासो दिन आवश्यक छ।’

सामाजिक लाञ्छनाले जेलिएको सुरक्षित गर्भपतन
सन् २००२ अघि नेपालमा गर्भपतन निषेध थियो। यसैले पनि गर्भवती महिला...
बुधवार, चैत २९ २०७९हाम्रा विद्यालयमा पाठ्यक्रममै समावेश हुँदा पनि यौन तथा प्रजनन शिक्षालाई गम्भीरताका साथ लिइँदैन। यौनाङ्गलाई इज्जतका रूपमा हेर्ने समाजमा त झन् यसबारे खुलेर कुरा पनि हुँदैन। जसले गर्दा किशोर–किशोरीले कुन छुवाइ सही/गलत हो भन्ने कुरा निर्क्योल गर्न नसक्ने ढकाल बताउँछन्।
‘बलात्कार र हाडनाता करणीबाट रहन गएको गर्भका विषय बेलैमा सतहमा पुगे त गर्भपतन कानुनअनुसार नै होला तर ढाकछोप भएमा त्यसको अन्त्य असुरक्षित गर्भपतनबाट हुने गरेको छ,’ उनले थपे, ‘जसले गर्दा गर्भवतीको समग्र स्वास्थ्यलाई असर पर्छ। यसैले यो बेलैमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा बालबालिकालाई सचेत गराए अप्रिय घटना हुनबाट जोगिन सकिन्छ।’