प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अधिवेशन हुन बाँकी क्षेत्रमा सर्वसहमतिले पदाधिकारी चयन गर्न आग्रह गरेका छन् । आइतबार सुनसरीको देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देउवाले सहमतिबाटै स्वस्थ प्रतिस्पर्धाबाट गाउँ तथा नगर अधिवेशन गराउन आह्वान गर्दै पदाधिकारी चयनमा ध्यान दिन आग्रह गरेका हुन् ।
१४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्दै उनले पार्टीको क्षेत्र, जिल्ला, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अध्यक्षसहितका पदाधिकारी सम्भव भएसम्म सर्वसम्मतरूपमा चयन गर्न उनले आग्रह गरे ।
सर्वसम्मत हुन सकेको स्थानमा स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनुपर्ने उनले बताए । पार्टीभित्रको आन्तरिक निर्वाचनमा कडा प्रतिस्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुने उनले बताए । साथै, उनले पार्टीलाई समेत आउने निर्वाचनमा घाटा हुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कौवा खयन भन्सार निर्माणमा सरकारको उल्लेखनीय भूमिका रहने बताउँदै उनले उक्त भन्सार निर्माण भएमा राजस्व सङ्कलनमा पनि वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै कार्यक्रममा सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अघिल्लो सरकार असफल हुँदा काङ्ग्रेसले सत्ता स्वीकार गर्नुपरेको बताए । केपी शर्मा नेतृत्वको सरकारलाई जनताले दुईतिहाईले जिताउँदासमेत आन्तरिक किचलो हाबी भएपछि पाँच दलीय गठबन्धनले शेरबहादुर देउवालाई विश्वास गरेको सुनाए ।
यस्तै, उनले देशमा गरिबी र अशिक्षालाई निर्मूल बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । साथै उनले पार्टी सभापतिमा पुनः एकपटक देउवालाई नै विजयी गराउन सबैमा आग्रह गर्दै सुनसरी काङ्ग्रेसले देउवालाई नै भोट दिनेमा विश्वस्त तुल्याए ।
यसैगरी, पूर्वउप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारले सुनसरीको विकासमा ध्यान दिन आग्रह गर्दै कौवा खयन नाकालाई मुख्य नाकाका रूपमा विकास गर्न आग्रह गरे ।
फागुन २०७७ बाट निर्माण कार्य सुरु भएको देवानगन्ज गाउँपालिकाको नवनिर्मित भवन ९ करोडको लागतमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईंले जानकारी दिए । लिफ्टसहितको तीनतले भवन सुनसरीकै सबैभन्दा ठूलो भवन हो । भाडामा लिइएको पुरानो भवनबाट चाँडै नै नयाँ भवनमा सरिने गाउँपालिका प्रमुख लालीप्रसाद मेहताको भनाइ छ ।
कार्यक्रममा प्रदेश १ प्रमुख पर्शुराम खापुङ, प्रदेश १ संसदलीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, लगायतको उपस्थिति रहेको थियो ।