भोजपुर । भोजपुरमा चिराइतोको उत्पादन बढे पनि बजार मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो ।
राउतका अनुसार यस वर्ष चिराइतो उत्पादनमा वृद्धि भएको छ । तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ । उत्पादन बढे पनि बजार मूल्यमा आएको गिरावटका कारण किसानले अपेक्षाअनुसार आम्दानी गर्न सकेका छैनन् ।
यस वर्ष हालसम्म आफूले करिब २०० मन चिराइतो सङ्कलन गरिसकेको राउतले बताउनुभयो । उहाँका अनुसार बिक्रीका लागि आफ्नै घरमा समेत करिब १० मन चिराइतो मौज्दात छ । उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन् ।
चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएकाले मूल्य घटेको राउतको भनाइ छ । बजारमा माग र बिक्रीको अवस्था कमजोर हुँदा उत्पादन बढे पनि किसानले उचित मूल्य पाउन नसकेको उहाँले बताउनुभयो ।
चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । जिल्लाका किसानले व्यावसायिक खेती गर्नुका साथै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विशेषगरी ग्रामीण क्षेत्रका किसानका लागि यो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ ।
चिराइतोको खेती, सङ्कलन, ओसारपसार तथा बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले किसानको आम्दानी प्रभावित हुँदै आएको छ ।
स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन गर्दै उत्पादनअनुसार उचित मूल्य पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । बजारको सुनिश्चितता हुन सके चिराइतोखेतीबाट ग्रामीण क्षेत्रका किसानको आम्दानी थप बढाउन सकिने उनीहरूको विश्वास छ ।