काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उहाँले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । उहाँसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य थप विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम छ । यसबाट दुवै देशका प्राथमिकताका क्षेत्रमा आपसी सहयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमसम्बन्धी छलफल कार्यक्रमसमेत आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नुहुनेछ ।
नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपाल सरकारले थप लगानी भित्र्याउन अवलम्बन गरेका नीतिगत व्यवस्था र प्रयासबारे जानकारी गराइनेछ । यस कार्यक्रमले नेपाली र भारतीय व्यवसायीबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मीलगायत सहभागी रहनुहुनेछ ।
भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।