भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताएका छन् ।
शनिबार भक्तपुरमा पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले देश, जनता र समाजको चिन्ता गर्दै मुलुकको रूपान्तरणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली राजनीतिमा विभिन्न दल आन्तरिक समस्या र विभाजनको चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको दाबी गरे । पार्टीमा तीन जना पूर्वप्रधानमन्त्री रहेको र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले विगतको अनुभवका आधारमा पनि पार्टीले राजनीतिलाई सही दिशामा अघि बढाउन सक्ने विश्वास व्यक्त गरे ।
उनले न्यायका पक्षमा आवाज उठाउने र अरूलाई पनि अन्यायविरुद्ध बोल्न प्रेरित गर्ने जिम्मेवारी कम्युनिष्ट पार्टीको भएको बताए । समाजमा न्याय र परिवर्तनका लागि पार्टी आफैँले अगुवाइ गर्नुपर्ने उनको भनाइ थियो ।
मुलुकको रूपान्तरणका लागि राजनीतिक नारा र आश्वासन मात्रै पर्याप्त नहुने भन्दै नेपालले नयाँ समाजको स्पष्ट परिकल्पना, त्यसको रूपरेखा र कार्यान्वयनयोग्य योजना आवश्यक रहेको बताए । नयाँ समाजको सपना देखेर त्यसलाई साकार पार्न योजनाबद्ध रूपमा काम गर्नेले मात्रै परिवर्तनको नेतृत्व गर्न सक्ने उनको भनाइ थियो ।
उनले देश र जनताप्रतिको जिम्मेवारीबोधका साथ परिवर्तनको अभियानमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।