काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली श्रमिकसँग सम्बन्धित प्रकरणमा करिब दुई अर्ब रुपैयाँ अनियमितता भएको आरोपमा अनुसन्धानका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेका छन्। यद्यपि, उनलाई कहाँ र कुन समयमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन।
मलेसिया श्रमिक प्रकरणमा अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। यस प्रकरणमा यसअघि नै दुई पूर्वश्रममन्त्रीसहित छ जना पक्राउ परिसकेका छन्।
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल नेपालबाहिर गएका थिए। उनी भारतको कोलकातामा रहेको सूचना पाएपछि भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी नियन्त्रणमा लिइएको स्रोतको दाबी छ।
अर्याललाई आजै नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताइएको छ। सीआईबीले उनलाई नेपाल ल्याएपछि सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।
तर, पक्राउको स्थान र समय तथा नेपाल ल्याउने प्रक्रियाबारे सीआईबीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन।