काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको मिति परिवर्तन गरिएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बस्ने निर्णय गरेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा भोलिदेखि सुरु हुने दुईदिने राष्ट्रिय भेलाका एजेण्डामाथि समेत छलफल भएको छ ।
राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले नेपालको वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले अवलम्बन गर्नुपर्ने रणनीतिबारे धारणा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीतिक विषयमा कार्यपत्र प्रस्तुत गर्नेछिन् भने उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षबारे आफ्नो कार्यपत्र पेस गर्नेछन् ।
अर्का उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको तथ्याङ्कसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् । महासचिव शङ्कर पोखरेलले भने पार्टी शुद्धीकरणसम्बन्धी कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ ।
आसन्न निर्वाचनको तयारी र पार्टी सङ्गठनलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गर्न लागेको जनाएको छ ।