काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ३१३ जना घाइते भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको हो।
काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्सनजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा.प्र. ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिँदा चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ।
त्यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा पृथ्वीराजमार्ग हुँदै डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको बा १८ च ४५८७ नम्बरको गाडीको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। ४० वर्षीय ती पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।