काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आगामी समयमा पनि देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत आंशिक बदली हुने अनुमान गरिएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
देशका हिमाली भू–भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसममा आंशिक प्रभाव पर्ने देखिएको छ।
महाशाखाका अनुसार ती क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।