काठमाडौं। काठमाडौं उपत्यकामा बिहान र रातिको समयमा चिसो बढ्न थालेको छ। दिनमा घाम लागे पनि तापक्रममा हुने उतारचढावका कारण बिहान र साँझ चिसो बढी महसुस हुन थालेको हो।
मौसम अवलोकन विवरणअनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र अधिकतम तापक्रम २५.८ डिग्री सेल्सियस रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा वर्षाको सम्भावना छैन र मौसम सफा रहनेछ। दिन र रातको तापक्रममा अन्तर बढ्दै जाँदा मौसम परिवर्तनको प्रभाव जनजीवनमा देखिन थालेको छ।
चिसोबाट बच्न बिहानै बाहिर निस्कने बालबालिका, ज्येष्ठ नागरिक तथा स्वास्थ्यप्रति संवेदनशील व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।