काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै शिक्षा प्रणालीलाई व्यावहारिक, गुणस्तरीय र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्।
शनिबार पशुपति मित्र माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंक ल्याउनुमा मात्र सीमित नराखी सिर्जनशील, जिम्मेवार र समस्या समाधान गर्न सक्ने नागरिक तयार गर्नु हुनुपर्ने बताए।
विश्व तीव्र परिवर्तनको चरणमा रहेकाले विद्यार्थीलाई भविष्यका चुनौती र अवसर सामना गर्न सक्ने बनाउने गरी शिक्षा प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको उनको भनाइ थियो। आधुनिक ज्ञान र सीपसँगै मानवीय विवेक, संवेदनशीलता, सहिष्णुता र सामाजिक सद्भावलाई पनि शिक्षाको अभिन्न अंग बनाउनुपर्ने उनले बताए।
राष्ट्रपति पौडेलले विद्यालय तहदेखि नै विद्यार्थीमा राष्ट्रिय भावना, सामाजिक मूल्य र राष्ट्रप्रतिको जिम्मेवारी विकास गर्न सरोकारवालालाई आग्रह गरे।
शिक्षालाई गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी बनाउन सरकार, नीतिनिर्माता, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। विगतका उपलब्धिलाई आधार बनाएर भावी पुस्ताको आवश्यकताअनुसार शिक्षा प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।