काभ्रेपलाञ्चोक । गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्ग लेदो माटो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थलीबेँसी नजिक आज लेदो माटो र गेग्रान खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टका अनुसार मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा लेदो र गेग्रान खसेको हो।
डोजरको सहायताले सडकमा थुप्रिएको लेदो माटो र गेग्रान हटाएपछि यातायात पुनः सञ्चालनमा आएको विष्टले बताए।
वर्षा जारी रहेमा राजमार्गका अन्य स्थानमा समेत अवरोध हुन सक्ने जोखिम रहेकाले प्रहरीले सवारी चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।