काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव छ। कोशी, मधेस, बागमती तथा गण्डकी र लुम्बिनीका बाँकी भूभागमा यसको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली छ। गण्डकीका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
आज राति देशका पहाडी तथा तराई भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रमा पनि सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। तराई क्षेत्रमा बिहानको समयमा हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
सुदूरपश्चिम प्रदेशको तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।