काठमाडौं । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर बन्दै गएसँगै नेपालमा वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जाने मौसमविद्ले बताएका छन्। यद्यपि आज दिउँसो देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहेको छ। एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।
न्यूनचापीय क्षेत्रसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि नेपालतर्फ प्रवेश गरेकाले गएराति नेपालको मध्य भूभागका विभिन्न स्थानमा ठूलो वर्षा भएको अधिकारीले बताए। उनका अनुसार अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेको छ र यसको प्रभाव पनि सीमित हुँदै गएको छ।
आज मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा बादल लागेको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको प्रभावका कारण ती क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।
पश्चिमी नेपालका धेरै स्थानमा पनि बादल लागेको भए पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था नरहेको उनले जानकारी दिए।
चितवन र गण्डकीमा भारी वर्षाको सम्भावना
अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।
कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा दिउँसो वर्षा जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। तर केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भने कायमै छ।
मौसमविद् अधिकारीका अनुसार मधेश प्रदेश, बागमती प्रदेशको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकी प्रदेशको तल्लो र पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज राति भने भारी वर्षाको सम्भावना नरहेको र मौसममा उल्लेख्य सुधार आउने मौसमविद् अधिकारीले बताएका छन्।