काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई भोलि शुक्रबार बिहान सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम साहले जानकारी दिएका छन्।
वक्ताहरूको निर्धारित क्रमअनुसार प्रधानमन्त्री शाहको सम्बोधनको समय केही अगाडि वा पछाडि सर्न सक्ने जनाइएको छ।
प्रधानमन्त्री शाह बुधबार राति अमेरिका पुगेका थिए। उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका हुन्। भ्रमण सम्पन्न गरी उनी असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको यो पहिलो विदेश भ्रमण हो। महासभामा उनको सम्बोधनलाई नेपालको धारणा र प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ।