ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको दोभानमा लागेको आगलागीमा परी प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्।
करिब ५० घरधुरी रहेको बस्तीमा आगलागी भएपछि नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।
आगलागी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी सक्रिय छन्। आगलागीबाट थप क्षति हुन नदिन प्रयास भइरहेको जनाइएको छ।
आगलागी के कारणले सुरु भयो भन्ने विषयमा भने अहिलेसम्म यकिन हुन सकेको छैन। घटनामा भएको कुल क्षतिको विवरण पनि संकलन भइरहेको छ।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले आगलागी नियन्त्रणका लागि कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।