काठमाडौं। सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि सरकारले नदीको जलसतह र विपद्को अवस्था निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना दिने भएको छ।
असोज ८ देखि १० गतेसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बताए। जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीको जलसतह ‘रियल टाइम’ मा निगरानी गरिनेछ।
‘पूर्वसूचना प्रणालीलाई घण्टा–घण्टामा अपडेट गर्दै अवस्था निगरानी गर्छौँ,’ उप्रेतीले भने। सम्भावित बाढी खतराको तह र त्यसको प्रभावबारे प्राविधिक विश्लेषण गरी सूचना जारी गरिने उनले बताए। नागरिकको मोबाइलमा आउने एसएमएस अलर्टलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे।
समुद्रमा विकसित चक्रवातीय प्रणालीको समेत निगरानी भइरहेको र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेकाले ‘रेड अलर्ट’ जारी गरिएको प्राधिकरणले जनाएको छ। जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रका पर्यटकलाई सुरक्षित स्थानमा फर्किन र ट्राभल एजेन्सीलाई नयाँ बुकिङ नगर्न आग्रह गरिएको छ।
जोखिम बढे राजमार्ग तथा सडकमा सवारी आवागमन रोक्न सकिने जनाउँदै प्राधिकरणले असोज ८ र ९ गते अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ। पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन प्रमुख राजमार्गमा डोजर तयारी अवस्थामा राखिएको छ।
पाकेको धानबाली र भण्डारण गरिएको अनाज जोगाउन किसानलाई सतर्क रहन आग्रह गरिएको छ। बाढीमा भिडियो खिच्न, सामाजिक सञ्जालका लागि सामग्री बनाउन वा दाउरा संकलन गर्न खोलामा नपस्न पनि प्राधिकरणले चेतावनी दिएको छ।
सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ भने ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमको अवस्था र उद्धार–प्रतिकार्यको तयारी भइरहेको प्राधिकरणले जनाएको छ।