काठमाडौं। निर्वाचन आयोगले प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको नामावलीमा समावेश विवरणमाथि दाबी–विरोध तथा आवश्यक सच्याउन असोज १२ गतेसम्मको समय दिएको छ।
आयोगका अनुसार गत भदौ १५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका नागरिकको विवरण प्रारम्भिक सूचीमा समावेश गरिएको छ। मतदाताले आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर त्रुटि भए अनलाइनमार्फत सच्याउन निवेदन दिन सक्ने सूचना अधिकारी सुमन घिमिरेले बताए।
‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले मात्र निर्वाचनमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ,’ घिमिरेले बताए, ‘त्यसैले असोज १ गतेदेखि १२ गतेभित्र आयोगको वेबसाइटमा आफ्नो विवरण हेरेर कुनै त्रुटि भए समयमै सच्याउन अनुरोध गरिएको छ।’
आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि दुई विधि अपनाएको छ। राष्ट्रिय परिचयपत्र (एनआईडी) मा आबद्ध मतदाताले अनलाइन प्रणालीमार्फत तस्बिर तथा बायोमेट्रिक विवरण पेश गर्न सक्नेछन् भने एनआईडीमा आबद्ध नभएकाले सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर विवरण उपलब्ध गराउनुपर्नेछ।
त्यसैगरी, मतदाता बन्न अयोग्य व्यक्ति वा नागरिकता त्याग गरिसकेका व्यक्तिको नाम नामावलीमा समावेश भएको भए असोज १२ गतेभित्र उजुरी वा दाबी–विरोध दिन सकिने आयोगले जनाएको छ।
तोकिएको अवधिमा प्राप्त निवेदन तथा दाबी–विरोधमाथि आवश्यक छानबिन गरी आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिनेछ।