काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग मलेसियाको वैदेशिक रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा अन्त्य गर्न आग्रह गरेका छन् ।
मलेसियामा रोजगारीका क्रममा नेपाली श्रमिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले त्यसको स्थायी समाधानका लागि मलेसियाली समकक्षीको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले मंगलबार बिहान टेलिफोनमार्फत मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग कुराकानी गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका थिए ।
‘हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन । यसले श्रमिकहरूलाई मारमा पारेको छ,’ प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।
उनले यस समस्याको दीर्घकालीन समाधानका लागि दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता गराउन पनि आग्रह गरेका थिए ।
‘त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु,’ शाहले भनेका थिए ।
प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी तथा शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका थिए । उनले श्रमिकमाथि हुने अन्यायपूर्ण व्यवहार र शोषणकारी प्रवृत्तिको अन्त्यका लागि संयुक्त पहल आवश्यक रहेको बताएका थिए ।
जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाजस्ता गलत तथा शोषणकारी अभ्यासको आफू विपक्षमा रहेको बताएका थिए ।
उनले यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस समाधान निकाल्न मलेसियाका श्रममन्त्रीलाई तत्काल निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु । म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,’ इब्राहिमको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ ।