काठमाडौं । पक्राउ परेका व्यक्ति भाग्ने वा अरूलाई क्षति पुर्याउने जोखिम नभएको अवस्थामा हतकडी नलगाउन सर्वोच्च अदालतले प्रहरीका नाममा आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेकै आधारमा सबै व्यक्तिलाई अनिवार्य रूपमा हतकडी लगाउने अभ्यास नगर्न आदेश दिएको हो ।
सर्वोच्चले हतकडी लगाउनुपर्ने अपरिहार्य अवस्था भए त्यसको स्पष्ट कारण खुलाउन र प्रयोगको अभिलेखसमेत राख्न प्रहरीलाई निर्देशन दिएको छ ।
विवेक चौधरी, रोशन आउजा र विकास यादवले हतकडीको गैरकानुनी प्रयोग भएको दाबीसहित दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
अदालतले पक्राउ परेका प्रत्येक व्यक्तिलाई यान्त्रिक रूपमा हतकडी लगाउने कार्य संवैधानिक तथा कानुनी व्यवस्थाको मर्मअनुकूल नहुने ठहर गरेको छ ।