काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि राहत, पुनःस्थापना तथा कानुनी प्रक्रियामा तत्काल सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढीमा बेपत्ता भएका नागरिकका परिवारले खोजीको आशा त्यागेर कुशको आकृति बनाएर अन्तिम संस्कार गर्नुपर्ने अवस्था आएको बताइन् । तर मृत्युको औपचारिक पुष्टि र आवश्यक कागजी प्रक्रिया पूरा हुन नसक्दा प्रभावित परिवार दोहोरो पीडामा परेको उनको भनाइ थियो ।
बेपत्ता नागरिकको कानुनी हैसियत, सम्पत्तिको हक हस्तान्तरण तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधाको सुनिश्चितताका लागि न्यायिक र प्रशासनिक प्रक्रिया तत्काल अघि बढाउन उनले माग गरिन् ।
‘राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्ब गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारलाई हुनुहुँदैन,’ धितालले भनिन् ।
उनले प्रभावित परिवारलाई राहत तथा सामाजिक सुरक्षा उपलब्ध गराउने स्पष्ट कार्यविधि बनाएर पुनःस्थापनाको प्रक्रिया छिटो टुंग्याउन पनि सरकारसँग आग्रह गरिन्।