काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाश पाठकले जेन–जी आन्दोलनका घाइते तथा मुद्दा लागेका युवाको न्याय सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपचार, क्षतिपूर्ति, परिचयपत्र र दीर्घकालीन व्यवस्थापनको माग गर्दै झापामा घाइतेहरू ६ दिनदेखि आमरण अनशनमा बसेको बताए । उनीहरूका माग तत्काल सम्बोधन गर्न पनि उनले सरकारसँग आग्रह गरे ।
गत वर्ष भदौको अन्तिम साता भएको जेन–जी आन्दोलनमा झापामा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको र १ सय ८ जना घाइते भएको पाठकले बताए । घाइतेमध्ये ४३ जनाले मात्र परिचयपत्र पाएको उनको भनाइ थियो ।
‘सभामुख महोदय, एउटै आन्दोलनमा निधन भएकाहरू शहीद अनि बाँचेकाहरू अपराधी कसरी हुन सक्छन् ?’ उनले प्रश्न गरे ।
जेन–जी आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरी मुद्दा लागेका युवालाई सरकारले संरक्षण र सहयोग गर्नुपर्ने उनले बताए । घाइते तथा मुद्दा लागेका युवाले न्याय पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्नको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ थियो।