कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित बिरेठाँटीमा मोदी खोलाको बाढीले क्षति पुर्याएको सडक मर्मत सम्पन्न भएपछि शुक्रबारदेखि यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।
गत साउन २८ गते आएको बाढीले बिरेठाँटीमा करिब १०० मिटर पक्की सडक बगाएपछि अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ सडक सम्पर्कबाट विच्छेद भएका थिए । सडक क्षतिग्रस्त हुँदा ती वडाको मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँगको आवागमन अवरुद्ध भएको थियो ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक मर्मत गरी सञ्चालनमा ल्याइएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा भदौ २ गतेदेखि सडक मर्मतको काम सुरु गरिएको थियो ।
मोदी खोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने, ब्याकफिलिङ गर्ने तथा आवश्यक संरचना निर्माण र सडक मर्मत सम्पन्न गरिएपछि यातायात सञ्चालनमा ल्याइएको अध्यक्ष केसीले बताए ।
‘नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको अवरोध सबैको साथ र सहयोगबाट हटेको छ । हाल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसबाट नागरिकलाई केही सहज भएको छ,’ उनले भने ।
बिरेठाँटीमा सडक सञ्चालनमा आए पनि घान्द्रुकसँग भने अझै सिधा सडक सम्पर्क स्थापित हुन सकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरे खण्डमा मर्मत कार्य जारी रहेकाले सञ्चालनमा आउन अझै केही दिन लाग्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रवक्ता भरतमान गुरुङका अनुसार बिरेठाँटीको सडक खुलेपछि उल्लेरी हुँदै पर्यटकीय गन्तव्य पुनहिल र घोडेपानी पुग्न सहज भएको छ । बिरेठाँटीदेखि चिमरुङ तमुचोकसम्मको सडकसमेत सञ्चालनमा आएकाले आवागमनमा थप सहजता भएको उनले बताए ।
‘अब केही दिनमा घान्द्रुकसम्मै सडक खुलाउने प्रयासमा छौँ,’ प्रवक्ता गुरुङले भने ।
सडक पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवर्द्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी तथा लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीले एक्साभेटरलगायत निर्माण उपकरण उपलब्ध गराएका थिए ।
एक्साभेटर तथा टिपर सञ्चालनका लागि आवश्यक डिजेल र अन्य व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
सडक मर्मतका क्रममा नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गरेका थिए । सडकको अर्को खण्डमा भने गाउँपालिकाले बोलपत्रमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम गरेको थियो ।