काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही काम नगरेको भन्ने भाष्य निर्माण गरी जनतालाई भ्रमित पार्ने काम भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गरिएको दाबी गरे।
उनले मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकी मार्ग निर्माण तथा विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको बताए। ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण काम भएको दाबी गर्दै उनले विद्युत् उत्पादन तथा निर्यातको अवधारणा अघि बढाउने र लोडसेडिङ अन्त्य गर्ने काम आफ्नै पालामा भएको बताए।
प्रचण्डले भने, ‘अहिले साम्राज्यवादी अमेरिकी दलालहरूले पुराना पार्टी र नेताहरूले ३५ वर्षमा केही पनि गरेनन् भनेर सबै बिगार्ने काम मात्र गरे भन्ने भाष्य बनाएका छन् र जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरेका छन् कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो।’
उनले पुराना तथा स्थापित राजनीतिक दलहरूको योगदानलाई बेवास्ता गर्न नहुने बताए। विगतमा भएका कामबारे जनतालाई जानकारी गराउन नेता–कार्यकर्तालाई उनले निर्देशनसमेत दिए।