काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १५औँ महाधिवेशन विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सम्पन्न गरिने बताएका छन्। उनले १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनको तयारीतर्फ कांग्रेस अघि बढिसकेको बताए।
शुक्रबार लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीस्थित उनको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले पार्टीको विधान र संविधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गर्ने बताए।
कांग्रेसको विधानले निर्वाचित कार्यसमितिको कार्यकाल चार वर्ष तोकेको र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था रहेको उनले बताए। थपिएको एक वर्षको अवधि यही मंसिरमा पूरा हुने उल्लेख गर्दै सिंहले त्यसअनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताए।
‘जस्तोसुकै परिस्थितिमा पनि १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्न हामी अडिग छौँ,’ सिंहले भने।
उनले कांग्रेसको चाहना विशेष महाधिवेशन नभएको भन्दै व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्न नहुने बताए। राजनीतिक दलले राजनीतिक मुद्दा र एजेन्डा तय गर्ने तथा न्यायिक विषयमा अदालतले आफ्नो भूमिका निर्वाह गर्ने भएकाले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
सिंहले कांग्रेसको राजनीतिक इतिहासमा राष्ट्रियता र लोकतान्त्रिक मुद्दालाई प्राथमिकता दिइएको उल्लेख गर्दै बीपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग स्मरण गरे। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहपछि पनि कांग्रेस लोकतान्त्रिक मान्यताबाट पछि नहटेको र त्यसैको निरन्तरतामा २०४६ सालमा राजनीतिक परिवर्तन सम्भव भएको उनले बताए।
संविधानले पनि एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्मको अवधि साढे पाँच वर्षभन्दा बढी हुन नहुने व्यवस्था गरेको उल्लेख गर्दै सिंहले पार्टीको विधान र संविधानको भावना तथा मर्मअनुसार महाधिवेशन सम्पन्न गर्नु कांग्रेसको दायित्व भएको बताए। विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।