काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक तथा आर्थिक भेटवार्तामा सहभागी हुँदै छन्। बिहीबार नयाँ दिल्ली पुगेका वाग्लेले सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सहकार्य र द्विपक्षीय हितका विषयमा छलफललाई प्राथमिकता दिइएको छ। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। इन्डिया इन्टरनेसनल सेन्टरमा हुने कार्यक्रममा उनले नेपाल–भारतबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धबारे धारणा राख्नेछन्।
त्यसपछि शुक्रबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग भेटवार्ता गर्नेछन्। भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग र पारस्परिक हितका विषयमा छलफल हुने बताइएको छ।यस्तै, वाग्ले भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जाभेद अशरफले भारत मण्डपममा आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि सहभागी हुनेछन्। कार्यक्रममा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न पक्षबारे उद्योगी–व्यवसायी तथा उच्चपदस्थ अधिकारीसँग छलफल हुने जनाइएको छ।
अर्थमन्त्रीको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
भ्रमणको तेस्रो तथा अन्तिम दिन शनिबार भारतीय निजी क्षेत्रका प्रतिनिधि तथा अन्य उच्चस्तरीय टोलीसँग भेटवार्ता गरेपछि अर्थमन्त्री वाग्लेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ।