म्याग्दी । कालीगण्डकी नदीको कटानबाट बस्ती जोगाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बस्ती संरक्षण योजना सञ्चालन भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्।
नदीकिनारमा कम्पोजिट पर्खाल निर्माण र र्यापिङ गरिएपछि यस वर्ष कटान रोकिएको स्थानीय सुदीपकुमार विकले बताए।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, पोखरामार्फत बस्ती संरक्षणको काम अघि बढाइएको हो। बाढी तथा नदी कटान नियन्त्रणका लागि नदीकिनारमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिएको इन्जिनियर नरजंग गुरुङले जानकारी दिए।
उनका अनुसार ९४ मिटर लम्बाइमा पर्खाल निर्माण गरिएको छ। जगदेखि दुई मिटर उचाइसम्म चार मिटर चौडाइको आरसिसी संरचना बनाइएको छ भने त्यस माथि पलम पर्खाल र थप भागमा ग्यावियन जाली राखिएको छ।
उक्त कामका लागि केटी/जेएसआर जेभीले २०८२ फागुन २५ गते रु एक करोड नौ लाख १६ हजारमा ठेक्का सम्झौता गरेको थियो।
त्यसैगरी, थप ९५ मिटर क्षेत्रमा ठूला ढुङ्गा राखेर बाढीको बहाव नियन्त्रण गर्ने गरी ‘र्यापिङ’ गरिएको छ। उक्त कामका लागि एमपी निर्माण सेवाले रु १२ लाखमा ठेक्का सम्झौता गरेको थियो।
स्थानीयवासी प्रेमबहादुर तिलिजाले निलगिरि आधारभूत विद्यालयको भवन क्षेत्रलाई समेत नदी कटानबाट जोगाउन संरक्षणको काम अघि बढाउनुपर्ने बताए।
मुस्ताङ जाने वैकल्पिक पदमार्ग तथा अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुमा पर्ने घराप गाउँमा २५ घरपरिवारको बसोबास छ।
सुन्तलाका बगैँचाका लागि समेत परिचित घरापमा नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रको कार्यालय र निलगिरि आधारभूत विद्यालय रहेका छन्।