काठमाडौं । आज सङ्घीय संसद्का चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।
दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपछि अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणलगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ ।
यसैगरी, बिहान १०ः३० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भदौ १० गते भोटेकोशीलगायत नदीमा आएको बाढी तथा जलवायु परिवर्तनको असरका विषयमा विज्ञहरूसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ।