काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम गर्दै सिंहलाई स्मरण गर्न लागेका हुन् ।
नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको उदाहरण प्रस्तुत गरेका सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए । उनले आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो । उनले प्रजा परिषद्को सदस्य बनेर राणाशासन अन्त्यका लागि सञ्चालित आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
२००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका सिंहले त्यहाँ बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित गरेका थिए । २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वसमेत उनले गरेका थिए ।
राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले भएको २००७ सालको क्रान्तिमा सिंहले वीरगन्ज मोर्चाबाट सशस्त्र सङ्घर्षको नेतृत्व गरेका थिए ।
२०१५ सालको पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि पक्राउ परेका थिए । उनले सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी करिब आठ वर्ष काराबास जीवन बिताए ।
२०२५ सालमा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि सिंहले भारत प्रवासमा रहेर राजनीतिक सङ्गठन विस्तारमा सक्रियता देखाए । त्यसपछि २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका उनी पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक आन्दोलनमा निरन्तर सक्रिय रहे ।
२०४६ सालको जनआन्दोलनमा कांग्रेस र वाममोर्चासहितका शक्तिलाई एकताबद्ध गर्दै आन्दोलनको नेतृत्व गरेका सिंहलाई प्रजातन्त्र पुनःस्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताका रूपमा स्मरण गरिन्छ।