ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै तह, वर्ग र समूहलाई समेट्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय समिति बैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्र देखिएका असहमति र असन्तुष्टिका विषय सम्बोधन भइसकेकाले अब एकताका साथ अघि बढ्ने बताएका हुन्।
उनले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। कांग्रेसलाई एकताबद्ध बनाउनु भनेको नेताहरूबीच मात्रै सहमति कायम गर्नु नभई पार्टीबाट टाढिएका नेता, कार्यकर्ता, समर्थक तथा मतदातालाई समेत पुनः जोड्नु रहेको उनको भनाइ थियो।
“अड्किएका सबै कुरा सम्बोधन भएका छन्। नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ। तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ,” सभापति थापाले भने, “पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने होइन, रिसाएर कांग्रेस छोडेकाहरूलाई पनि जोड्नु आवश्यक छ।”
उनका अनुसार आगामी असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गरिनेछ। महाधिवेशन सम्पन्न गरेपछि पार्टी जनतामाझ जाने तयारीमा रहेको उनले बताए।
सभापति थापाले देशभरका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै महाधिवेशनका क्रममा कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने ढंगले विषयलाई नहेर्न आग्रह गरे। पार्टीको हितका लागि सबै पक्षले केही न केही लचकता अपनाएर सहमति गरेको विषयका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
“मतभिन्नता हुनु स्वाभाविक हो। त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ,” उनले भने, “पार्टीभित्रको एकता नेताहरूबीचमा मात्रै सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ।”