काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही नेताको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी आएको ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले केही दिनअघि प्रकाशित उक्त रिपोर्टले अमेरिकी सहयोगमा सञ्चालित राजनीतिक तथा नागरिक नेतृत्व विकास कार्यक्रमसँग नेपाली नेताहरूको सम्बन्धबारे प्रश्न उठाएको भन्दै यसबारे सरकार र नाम जोडिएका नेताहरूले स्पष्ट पार्नुपर्ने बताए। ‘द ग्रे जोन’ले लिक भएका कागजातलाई आधार बनाउँदै बालेन्द्र शाह, रवि लामिछाने, सुदन गुरुङ र सागर ढकाललगायतलाई अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रमसँग जोडिएको दाबी गरेको छ।
पोखरेलले भदौ २३ र २४ का घटनामा तालिमप्राप्त समूह र रासायनिक पदार्थ प्रयोग भएको विषयसमेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको भन्दै त्यससँग सम्बन्धित प्रश्नको जवाफ खोजिनुपर्ने बताए।
‘द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने हो ?’ उनले प्रश्न गरे, ‘सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ।’
उनले विदेशी सहयोगमा सञ्चालित कार्यक्रम र त्यससँग जोडिएका राजनीतिक गतिविधिबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए।