काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत मन्त्रालय र सम्बन्धित निकाय विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए।
सरकारले सुरुमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको र अहिले राहत वितरण भइरहेको उनले बताए। भौगोलिक जटिलताका कारण केही कठिनाइ भए पनि काम निरन्तर भइरहेको उनको भनाइ छ।
अब पुनःस्थापना र पुनर्निर्माणका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणले योजना निर्माण र कार्यान्वयन अघि बढाइरहेको उनले बताए। ‘नीतिगत निर्णयदेखि फिल्डस्तरको कामसम्म सम्बन्धित निकायहरू निरन्तर सक्रिय छन्,’ लामिछानेले भने।
रास्वपाभित्रैबाट सरकारको आलोचना हुने विषयमा उनले नेताहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्नु पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास भएको बताए।
सर्वदलीय बैठकमा विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापना र जलवायु परिवर्तनबारे छलफल भएको थियो। बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसद्मा विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिए।