काठमाडौं। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति, शेयर लगानी तथा विवादित व्यवसायीसँगको सम्बन्धबारे गरिएको छानबिनको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केरुङले सार्वजनिक पदसँग जोडिएका प्रश्नमा छानबिन गरिएपछि त्यसको निष्कर्ष संसद् र जनताले जानकारी पाउनुपर्ने बताए । उनका अनुसार स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।
त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले गुरुङको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी, बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । मन्त्रिपरिषद्ले जेठ २६ गते प्रतिवेदन ग्रहण गरे पनि त्यसलाई सार्वजनिक नगरेको केरुङले बताए ।
प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरिनुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको उनको भनाइ छ ।
‘प्रतिवेदन संसद् र जनतालाई नदेखाई बिरालोले आँखा लुकाएजस्तै किन लुकाउनुपर्यो ?’ केरुङले प्रश्न गरे ।
छानबिन प्रतिवेदनकै आधारमा सरकारले गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गरेको भए त्यसको आधार, प्रमाण र बयानसमेत सार्वजनिक गर्नुपर्ने उनले बताए । सार्वजनिक पदमा उठेका प्रश्नको छानबिन र त्यसको निष्कर्ष पारदर्शी ढंगले सार्वजनिक गर्नु सरकारको दायित्व भएको केरुङको भनाइ थियो ।