काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको आन्तरिक विवाद र असमझदारी अन्त्य गरी एकता, सहमति र सहकार्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
मंगलबार ७ बुँदे अपिल जारी गर्दै देउवाले पछिल्लो समय कांग्रेसभित्र बढ्दै गएको विवादप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् । उनले पार्टीको विधि, विधान, पद्धति र परम्पराविपरीत केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै संस्थापन पक्षले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको आरोप लगाएका छन् ।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै देउवाले त्यसको अन्तिम टुंगो नलाग्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानुनी तथा संवैधानिक दृष्टिले उचित नभएको बताएका छन् ।
देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत् निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको उनको भनाइ छ । आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नरहेको पनि देउवाले स्पष्ट पारेका छन् ।
देउवाले कांग्रेस नेतृत्वमा रहँदा विगत ३५ वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्ने बताएका छन् । प्राप्त उपलब्धिमा मात्रै सन्तुष्ट भएर बस्न नहुने भन्दै उनले जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।
उनले कांग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् ।
तर, कांग्रेस संस्थापन पक्षले भने असोजमै महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ ।
भोटेकोशी बाढीबाट उत्पन्न विपत्तिको प्रसंगसमेत उल्लेख गर्दै देउवाले संकटका बेला सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।