काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन पक्षले गम्भीर सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । ठोस राजनीतिक पहल गर्नुभन्दा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचार गर्ने काम मात्रै भएको उनको दाबी छ ।
सोमबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा महतले पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट पार्टीभित्रको विवाद समाधानका लागि आफूहरूसँग ठोस संवाद र सहमतिको पहल नभएको बताए । उनका अनुसार ३ गते हुने वडा अधिवेशनमा सहभागी भए १४औँ महाधिवेशनबाट निर्वाचित भएर अहिले बाहिर रहेका नेताहरूलाई विशेष अधिवेशनमा समेट्ने प्रस्ताव गरिएको छ ।
महतले उक्त प्रस्तावलाई अपमानजनक भन्दै पार्टीमा योगदान गरेका नेताहरूलाई कसैको व्यक्तिगत निगाहमा स्थान दिने कुरा स्वीकार्य नहुने बताए।
‘हामी केन्द्रीय सदस्य भयौँ भनेर पार्टीमा लागेका होइनौँ । नेपाली कांग्रेसको मूल्य, मान्यता र संस्कार छ । १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अहिले आएर अधिवेशनमा सहभागी भए मात्रै केन्द्रीय सदस्य बन्न सक्नुहुन्छ भन्नु घाउमा नुन छर्किएजस्तो हो,’ उनले भने ।
अदालतमा विचाराधीन प्रक्रियालाई पर्खिनुपर्ने वा राजनीतिक सहमतिका लागि अधिवेशन प्रक्रिया स्थगित गरेर समाधान खोज्नुपर्ने विकल्प आफूहरूले अघि सारे पनि संस्थापन पक्षले दुवै अस्वीकार गरेको महतको आरोप छ । राजनीतिक सहमतिको वातावरण बने अदालतमा दायर पुनरावलोकन निवेदन फिर्ता लिन आफूहरू तयार रहेको उनले स्पष्ट पारे ।
‘पहिला राजनीतिक रूपमा सहमति हुनुपर्यो । एकताको महाधिवेशन गरेर जाने वातावरण बन्नुपर्यो । त्यसपछि अदालतको प्रक्रिया फिर्ता लिने कुरा हुन्छ,’ उनले भने ।
महतले असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशन हुँदै मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको जानकारी दिँदै देशभरका नेता–कार्यकर्तालाई सहभागी हुन आह्वान गरे । आफूहरू अर्को पार्टी निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित समितिको नेतृत्वमा कांग्रेसकै महाधिवेशन गर्न लागेको दाबी गरे ।
‘हामी अर्को पार्टी बनाउँदै छैनौँ, नेपाली कांग्रेस पार्टीकै अधिवेशन गर्दैछौँ । पदलाई होइन, विचारलाई महत्त्व दिने स्वाभिमानी कांग्रेसका साथीहरू १५औँ महाधिवेशनमा सहभागी हुनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
संस्थापन पक्षले सहमतिको बाटो बन्द गरेको आरोप लगाउँदै महतले पार्टीको मूल भावना र आत्मा जोगाउन महाधिवेशनमा सहभागी हुनुको विकल्प नरहेको बताए । अधिवेशन स्थगित गरेर दुवै पक्ष बसेर सहमति खोज्ने वातावरण बने आफूहरू त्यसका लागि तयार रहेको उनले दोहोर्याए ।