जनकपुर। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको विपद्मा सरकारले समयमै विज्ञ तथा विदेशी प्राविधिकको सहयोग नलिँदा धेरैको ज्यान बचाउन नसकिएको बताएका छन्।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले उक्त विपद् सामान्य बाढी नभई ठूलो हिमाली प्रलयको स्वरूप भएको बताए। प्रारम्भिक चार–पाँच दिनमै विशेषज्ञ परिचालन गरी उद्धार अघि बढाएको भए थप मानिसलाई बचाउन सकिने उनको दाबी छ।
विदेशी विज्ञले सहयोगको इच्छा देखाउँदा पनि सरकारले ‘हामी आफैं गर्छौं’ भन्ने अहंकार देखाएको आरोप दाहालले लगाए। १०–११ दिनपछि समेत मानिसहरू जीवितै फेला परेको उल्लेख गर्दै उनले समयमै विशेषज्ञको सहयोग लिएको भए अझ धेरैको ज्यान बचाउन सकिने बताए।
दाहालले अझै बेपत्ताको खोजी, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए। साथै, पहाडमा परेको विपद्मा मधेसका जनतालाई सहयोग गर्न अपिल गर्दै उनले यस्तो सहयोगले राष्ट्रिय एकतालाई बलियो बनाउने बताए।
उनले विपद्लाई जलवायु परिवर्तनसँग जोड्दै बढी कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले नेपालजस्ता प्रभावित देशलाई सहयोग गर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय तथा ‘लस एन्ड ड्यामेज’को मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्ने बताए।