काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार बैठकमा कार्यदलले तयार पारेका प्रतिवेदनमाथि छलफल गरिनेछ।
कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा सुरु भएको थियो। उक्त बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए।
बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी त्यसमा समेटिएका विषयवस्तुमाथि छलफल गर्ने र आवश्यक सुझाव समेटेर एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको बताइएको छ।
आजको बैठकमा दुवै प्रतिवेदनमाथि थप छलफल गर्दै साझा निष्कर्षसहितको प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ।