कास्की ।कास्कीको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया पुनः अघि बढाउने भएको छ।
महानगरपालिकाले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार बसपार्क क्षेत्रमा कुल ५६७ परिवार बसोबास गर्दै आएका छन्। तीमध्ये १४४ परिवार भूमिहीन दलित, १८१ परिवार भूमिहीन सुकुम्बासी र २४२ परिवार अव्यवस्थित बसोबासी रहेका छन्। नगर कार्यपालिका बैठकले यी परिवारको विवरणसमेत प्रमाणीकरण गरिसकेको छ।
महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारलाई वैकल्पिक व्यवस्था गरेर मात्रै हालको स्थानबाट हटाइने बताएका छन्। उनका अनुसार बस्ती व्यवस्थापनका लागि केही सम्भावित स्थान पहिचान भइसकेका छन् भने बाँकी प्रक्रिया जिल्ला भूमि आयोगमार्फत अघि बढाइनेछ।
‘भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण केही समय उद्धार र राहतमा केन्द्रित हुनुपर्दा बस्ती व्यवस्थापनको काम रोकिएको थियो,’ प्रमुख आचार्यले भने, ‘अब भने बाँकी निर्णय प्रक्रिया पुनः अघि बढाइनेछ।’
उनले मनसुन कमजोर भएसँगै फिर्के खोला सीमांकन तथा मापदण्ड कार्यान्वयनको बाँकी काम पनि सँगसँगै अघि बढाउने जानकारी दिए।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माण गर्ने उद्देश्यले सरकारले २०३२ सालमै पृथ्वीचोक क्षेत्रमा जग्गा अधिग्रहण गरेको थियो। तर, योजना बनेको पाँच दशक बितिसक्दा पनि सुकुम्बासी बस्ती तथा विभिन्न किसिमका अतिक्रमणका कारण बसपार्क निर्माण हुन सकेको छैन। बसपार्क सञ्चालनमा नआउँदा पृथ्वीचोकको सडक किनारमै सवारीसाधन पार्किङ गरी यात्रु ओसारपसार गर्नुपर्ने अवस्था छ।
पछिल्लो समय महानगरपालिकाले प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका अनधिकृत व्यापारिक सटरहरू हटाइसकेको छ। जमिन खाली गराएपछि दक्षिण कोरियाली विकास नियोग (कोइका) को सहयोगमा प्रविधिमैत्री तथा वातावरणमैत्री बसपार्क निर्माण गर्ने महानगरको योजना छ।
महानगरले भूमिहीन तथा सुकुम्बासी परिवारको उचित व्यवस्थापनसँगै लामो समयदेखि रोकिएको बसपार्क निर्माण योजनालाई अघि बढाउने तयारी गरेको हो।