काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधिबाट जनता निराश भइसकेको र आफ्नो निर्णय गलत भएको महसुस गर्न थालेको दाबी गरेका छन्। सरकारको रबैयाका कारण जनतामा आफूले दिएको ‘जनादेश फिर्ता गर्नुपर्ने’ मनोविज्ञान विकास भएको उनको भनाइ छ।
शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले सरकार गठन भएको ६ महिना नपुग्दै जनतामा निराशा देखिएको बताए। अन्तर्राष्ट्रिय शक्तिहरूले सामाजिक सञ्जाल र अल्गोरिदममार्फत नयाँ पुस्तामा भ्रम सिर्जना गरेर वर्तमान सरकार निर्माण गरेको दाबीसमेत उनले गरे।
‘अहिले हुने भए त्यो जनादेश फिर्ता गर्नुपर्छ भन्ने मनस्थितिमा पुगेको’ बस्नेतले बताए।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारदेखि वर्तमान सरकारसम्मका गतिविधिले जनतामा पछुतो पैदा गरेको उनको दाबी छ। प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले संसद् पुनःस्थापना गरेर निर्वाचनका क्रममा भएका ‘गलत अभ्यास’ सच्याउनुपर्ने उनले बताए।
यस विषयलाई एमालेको आगामी केन्द्रीय कमिटी बैठकमा छलफलको एजेन्डा बनाइने बस्नेतले जानकारी दिए।
बस्नेतले पार्टीभित्रका कमजोरी सुधार गर्दै जनतामा फैलिएका भ्रम चिर्ने गरी एमालेलाई सशक्त बनाउने बताए। जनतासँगको सम्बन्ध थप बलियो बनाउँदै उनीहरूका मुद्दामा नियमित अन्तर्क्रिया र छलफल गर्ने तथा सामाजिक न्याय र समाजसेवाका काममा पार्टीलाई केन्द्रित गर्ने उनको भनाइ छ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदल पार्टी अध्यक्षलाई हटाउन गठन गरिएको भन्ने प्रचार गलत भएको पनि उनले बताए। निर्वाचनको समीक्षा, बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीको आगामी दिशा र संगठन पुनर्गठनको जिम्मेवारी कार्यदललाई दिइएको उनले स्पष्ट पारे।