काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बिक्री गर्ने काठमाडौंको एक किराना पसललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित ‘अनिल किराना पसल’ ले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको पाइएपछि कारबाही गरेको हो।
विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अनुगमनका क्रममा उक्त पसलले सरकारले निर्धारण गरेको मूल्यविपरीत सुगम ग्यास प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको पाइएको थियो। सरकारले एक सिलिन्डर ग्यासको मूल्य २ हजार ६० रुपैयाँ निर्धारण गरेको छ।
उपभोक्ताबाट तोकिएकोभन्दा बढी रकम असुलेर ठगी गरेको प्रत्यक्ष प्रमाण भेटिएपछि पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम तत्काल ३ लाख रुपैयाँ जरिबाना गरिएको सूचना अधिकारी किरातीले बताए।
विभागले उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।