काठमाडौं। राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाएका छन्। उनीहरूले मन्त्रीको अभिव्यक्ति तथ्यहीन भएको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई गौतममाथि कारबाही गर्न आग्रह गरेका छन्।
बिहीबारको राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रञ्जित कर्णले राष्ट्रिय सभाले कुन कानुन कहिले रोकेको हो भन्ने विवरण सार्वजनिक गर्न चुनौती दिए। उनले पार्टीका नेता–कार्यकर्ताले गलत र भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने लामिछानेको अभिव्यक्ति स्मरण गराउँदै मन्त्री गौतमलाई कारबाही गर्न माग गरे।
‘राष्ट्रिय सभाले कुन दिन कहिले कानुन रोकेको छ ?’ कर्णले प्रश्न गरे। उनले जिम्मेवारी पूरा गर्न नसके मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताए।
एमाले सांसद रामकुमारी झाँक्रीले पनि मन्त्रीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको ध्यानाकर्षण गराइन्। सरकारले राष्ट्रिय सभामा कति विधेयक दर्ता गरेको, प्रतिनिधि सभाबाट प्रतिवेदनसहित कति विधेयक आएको र राष्ट्रिय सभाले कति कानुनमा काम गरेको हो भन्ने विवरण सार्वजनिक गर्न उनले माग गरिन्।
तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता ढाकछोप गर्न नमिल्ने झाँक्रीको भनाइ थियो। उनले मन्त्री गौतमले जनतामाझ गलत सूचना पुर्याएको भन्दै सरकारबाट कारबाही र राष्ट्रिय सभामै सार्वजनिक माफी माग्नुपर्ने बताइन्। यसका लागि राष्ट्रिय सभा अध्यक्षले रुलिङ गर्नुपर्ने उनको माग छ।
‘राष्ट्रिय सभाको हवा देखाएर राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व छैन भन्ने कुरा देखाएर आफ्नो अयोग्यता छोप्ने छुट छैन,’ झाँक्रीले भनिन्।
जेनजी दिवसका दिन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो बहुमत नभएकाले काम गर्न नसकेको अभिव्यक्ति दिएकी थिइन्। त्यही अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सांसदहरूले बिहीबार बैठकमा आपत्ति जनाएका हुन्।